प्रादेशिक अपतकालीन गोदाम घर गण्डकी सरकारलाई हस्तान्तरण

७ सय मेट्रिक टन भण्डारण क्षेमता, बाहिरबाट आउने राहत र उद्धारका सामग्री सिधै पोखरा विमानस्थल अवतरण गराउन पाइने

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको पुरानो विमानस्थलमा निर्माण गरिएको प्रादेशिक आपतकालीन गोदाम घर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । विश्व खाद्य कार्यक्रमले विपद्का बेला गण्डकी प्रदेशका जिल्लामा आपतकालीन अवस्थामा आवश्यक राहत पुर्‍याउन गोदाम घर निर्माण गरेको हो । सो गोदाम घरको स्वामित्व शुक्रबार एक कार्यक्रमका बीच गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका हुन् । गत ९ असोजमा गृहमन्त्री लेखकले भर्चुवल माधयमबाट र गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

गृहमन्त्री लेखकले गोदाम घर हस्तान्तर संघीयता कार्यान्वयनको क्रमको रुपमा व्यख्या गरेका छन् । गृहमन्त्री लेखकले विपद्को बेला आपतकालीन गोदाम घरले निकै सहयोग पुग्ने बताए । आफू गृहमन्त्री भएपछि सात वटै प्रदेश मध्य बागमती प्रदेश बाहेकका प्रदेशमा रहेका गोदाम घर सम्बन्धित प्रदेशलाई नै हस्तान्तरण गर्ने नीति अनुरुप नै हस्तान्तरण गरेको उनले बताए ।

संघीय सरकार, प्रदेश सरकार, जिल्लामा प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समिति र स्थानीय सरकारमाा रहेका विपद् हेर्ने संयन्त्रबीच सहकार्यमा विपद् न्युनिकरण र व्यवस्थापनको काम हुनुपर्ने उनले उल्लेख गरे । ‘अब गण्डकीमा विपद् हुँदा यहाँको गोदामबाट सामान निकाल्न केन्द्रबाट चावि लिनुपर्ने अवस्थाको अन्त्य भएको छ । यस्तो अवस्थाको अन्त्य हुनपर्दछ भनेर प्रदेशलाई नै हस्तान्तरणको नीति लिइएको हो,’ उनले भने, ‘यो संघीयता कार्यान्वयनको क्रम पनि हो ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आपतकालीन गोदाम घर सञ्चालनमा आएपछि राहत वितरण एकद्वार प्रणालीबाट हुने विश्वास व्यक्त गरे। उनले प्रदेशले आफ्नै गोदाम घर पनि राखेको र अब दुबै गोदाम घरलाई एकीकृतरुपमा सञ्चालन गर्ने बताए । गण्डकीमा बाढीपहिरो लगायतको जोखिम धेरै रहेको भन्दै उनले विपद् प्रतिकार्यका लागि प्रदेश सरकारले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सहयोग गर्दै आएको समेत जानकारी दिए ।

गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल समेत रहेकाले प्रादेशिक आपत्कालिन गोदाम घर झनै उपयोगी हुने बताए । खोज तथा उद्धार उपकरण समयमै प्राप्त होस् भन्ने उद्देश्यले संघ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको जानकारी दिए । उनले प्राप्ति, भण्डारण, प्याकेजिङ र वितरणमा समेत सहज होस भनेर प्रत्येक प्रदेशबाट तीन जनाका दरले एकसाथ तालिमको समेत व्यवस्था गरिएको बताए ।

आपतकालीन राहत र उद्धारका सामग्रीको भण्डारण गर्न यूरोपेली युनियनको सहयोगमा प्रादेशिक आपतकालीन गोदाम घर बनेको हो  ।  यो आपत्कालिन गोदाम घरमा ७०० मेट्रिक टन भण्डारण क्षमता छ । गोदाम घरमा ४ वटा प्रिफ्याब भवन छन् । करिब एक हजार ५०० वर्गमिटर क्षेत्रफलमा यो गोदम घर रहेको छ । साथै ७ हजार ५०० लिटर इन्धन भण्डार गर्ने ब्लाडर समेत रहेकको छ ।

  • ५ बैशाख २०८२, शुक्रबार १०:१२ प्रकाशित