पोखरा ।
पृथ्वी होटल व्यवसायी समितिले नयाँ वर्ष २०८२ को अवसर परेर शुभकामना आदानप्रदान एवं भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ । विमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख सन्तोष निरौलाले व्यवसायीहरु मर्यादित भए समस्या झेल्नु नपर्ने बताए । उनले एकअर्का व्यवसायी प्रति आरोप लगाउन भन्दा पहिला आफू ठिकढंगले चल्न सबै व्यवसायीलाई आग्रह गरे ।
पठाओ लगायतका समस्याका विषयमा आफू जानकार रहेको भन्दै पहिले समस्या रहेपनि अहिले समाधान गरिएको र केही समस्या रहेको भए हरदम प्रहरी साथमा रहेको उनले सुनाए । केही होटलमा अहिलेपनि सीसी क्यामेरा नराखिएको टिप्पणी गरेका उनले त्यो आफ्नै सुरक्षाको लागि हो भनेर बुझ्न आग्रह गरे ।
निवर्तमान अध्यक्ष बालकृष्ण न्युरेले पृथ्वीचोकमा बसपार्क भएको र वरपर नै व्यवसायी भएकाले यहाँका गतिविधि आफूहरुलाई थाहा रहेको बताए । उनले यो संबेदनशिल क्षेत्र भएकाले त्यही अनुरुप यहाँ हुने अवाञ्चित गतिविधि नियन्त्रण गर्न आग्रह गरे ।
समितिका सल्लाहकार एवं पूर्वअध्यक्ष हरिप्रसाद पाण्डेले पृथ्वीचोक बिटमा रहेको प्रहरी सक्रिय बनाउन आग्रह गरे । उनले पृथ्वीचोकमा ओर्लने यात्रुलाई स्कटिङ गरेर अन्यत्र लैजाने लगायतका गुनासा सुनाए । शिवालाय चोक जाने बाटो लगायतका स्थललाई अझै निगरानी गर्न उनले आग्रह गरे । त्यस क्षेत्रमा मध्यरात पछि समस्या आउने गरेको उनले बताए ।
पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष अम्बिका घिमिरे (अमृतले) पर्यटकीय राजधानी रहेको पोखरामा अभद्ररुपले पठाओ सञ्चालन भइरहेको बताए । यसलाई निगरानी राख्न र सम्भावित जोखिमलाई रोक्न उनले आग्रह गरे ।
समितिले छापेको वि.सं. २०८२ को पात्रो वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी निरौलाले बिमोचन गरेका हुन् । कार्यक्रममा समितिका वरिष्ट उपाध्यक्ष मोति श्रेष्ठ, सचिव सोभाकान्त चापागाई र कार्यसमिति सदस्य एवं क्यालेण्डर प्रकाशन संयोजक अनुप पाण्डे लगायतले नयाँ वर्षको शुभकामना दिएका थिए ।















