पोखराको चाउथे र विमानस्थल वरपर ६ घण्टादेखि विद्युत अबरुद्ध

कुँडहर ग्रिडमा ब्रेकरको समस्या, सहरमा विभिन्न केबल कम्पनीका अव्यवस्थित तारका कारण झमेला

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको कुँडहर फिड अन्तर्गत पर्ने कुँडहर, चाउथे र अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र र वरपर विहान ६ घण्टादेखि विद्युत आपूर्ति बन्द भएको छ । ग्रिड ब्रेकरको समस्याका कारण लाइन काटेर मर्मत चलिरहेकाले विद्युत अवरुद्ध रहेको र केहीबेरमा बत्ति आउने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख  जीतेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार विहान ६ः१५ बजेदेखि विद्युत अबरुद्ध भएको हो । त्यहाँका पोलमा रहेका तारहरमा ग्रिड ब्रेकरको समस्याका कारण विहान आगलागी भएको उनले जानकारी दिए । ‘विहान एक्कासी ग्रिडको ब्रेकरको समस्या देखियो । अण्डरग्राउण्डको प्रक्रिया जारी रहेकाले पनि हुनसक्छ । ग्रिडको ब्रेकरको समस्या देखिएपछि विहानदेखि विद्युत सप्लाई रोकिएको हो । अब केही बेरमा विद्युतको आपूर्ति नियमित हुन्छ,’ उनले भने ।

पछिल्ला दिनहरुमा सडकमा रहेका विद्युत पोलमा रहेका तारहरमा आगलागी हुने क्रम बढेको छ । पोल आफैमा आगलागी नहुने तर, पोलमा विभिन्न केबल तारहरु गज्याङगुजुङ पारेर राख्दा आगलागी हुनेगरेको उनले जानकारी दिए । केही दिन पहिले पोखराको न्युरोडका पोलहरुमा रहेका तारहरुमा आगलागी भएको थियो । त्यहाँ विद्युत आपूर्तिका क्रममा सपार्क भएको र तिनै गुजुल्टिएका तारहरुमा आगो सल्किएको उनले बताए । यस्ता समस्या केवल र डिसहरुको अव्यवस्थित तारका कारण भएको उनको दाबी छ ।

त्यसैगरी ग्रामिण भेगमा चट्याङका कारण ट्रन्सफर्मर जल्ने जस्ता समस्याका कारण विद्युत आपूर्तिमा समस्या आउने गरेको उनले सुनाए ।

  • २७ चैत्र २०८१, बुधबार १२:४७ प्रकाशित