राष्ट्रिय आलु महोत्सवमा आलुको पहाडसँगै तस्विर खिच्नेको भीड

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको हेमजामा जारी १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवमा आलुको पहाडसँगै तस्बिर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिएको छ । कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाई आलुको पहाडसँग माया साट्दै तस्बिर कैद गर्न भ्याइनभ्याई छ ।

यतिसम्मकी महोत्सवमा पुग्ने प्राय सबैले आलुको पहाडसँगै आ–आफ्नो सेल्फि खिच्ने र खिचाउने अनि सामाजिक संजालमा पोष्ट गर्ने गरेका छन् । यहि २४ चैतबाट जारी महोत्सव ३ वैशाखसम्म चल्नेछ ।

महोत्सवमा तस्विर खिच्न बुढा पाका देखि अनुज एवम् तन्नेरी पुस्तासमेत हैसिएको भेटिन्छ । सम्झना पनि हुन्छ, कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्वपूर्ण पनि छ, हेमजा कृषिका लागि उर्वर भूमि हो मंगलबार आज आलुको पहाडसँगै तस्विर कैद गर्दै गर्नुभएकी स्याङजा सेतीदोभान हाल छोरेपाटन निवासी जानुका ढकालले बताइन् ।

मंगलबारसम्म २५ हजार दर्शक बढीले आलु महोत्सव अवलोकन गरेकोमा ४ सय ५० घरपरिवारले आलु खरिद गरी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनका अनुसार हालसम्म ५ लाख भन्दा बढीको आलुको कारोवार भएको छ ।

महोत्सव अन्तर्गत मंगलबार आज रत्यौली गीत प्रतियोगिता सुरु गरिनुका साथै कलाकारहरु खुमन अधिकारी, जीवन दाहाल, नविन पौडेल, नविना सुवेदी, अमर धिताल, परशुराम अधिकारी, शान्ता बर्देवा, हास्य कलाकार दिपक थापाका प्रस्तुतिहरु रहे । भोली बुधबार कलाकारहरु ज्योति मगर, जीवन दाहाल, रामजी पौडेल, तुलसा क्षत्री, सुमन खड्का, परशुराम अधिकारी, दुर्गा क्षत्री तथा हास्य कलाकारहरु युवराज भण्डारी र राजेन्द्र नेपालीका प्रस्तुति रहने मूल आयोजक समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी आज मंगलबारसम्म करिव २५ लाखको कारोवार भएको पनि श्रेष्ठले बताए । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन् ।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेका छन् ।

  • २६ चैत्र २०८१, मंगलवार १९:३३ प्रकाशित