काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलनमा शिक्षकहरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

शिक्षकहरु आजेदेखि अनिश्चितकालीन सडक आन्दोलनमा उत्रने भएका छन् । नेपाल शिक्षक महासंघले आजदेखि ‘काठमाडौं जाऔँ’ अभियान अन्तर्गत शिक्षकहरुले अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् । देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र जारी गर्न मागसहित आन्दोलन थालिएको उनले बताए ।

उनका अनुसार आज दिउँसो विभिन्न स्थानबाट र्‍याली निस्केर माइतीघर मण्डलामा भेला हुने कार्यक्रम रहेको छ । अपराह्न ४ बजेसम्म हुने प्रदर्शन माइतीघरबाट बानेश्वर पुग्नेछ । भोलि बिहीबारबाट हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले बताए।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीले बताए ।

आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने र काठमाडौं आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म नफर्कने उनले बताए ।

  • २० चैत्र २०८१, बुधबार ०८:०५ प्रकाशित