फेवा फाँटमा जेठोबुढो धान सखाप पारेको गवारो गहुँमा पनि देखियो (भिडियो सहित)

धान भित्र्याउन नपाएका किसानलाई गहुँपनि भित्र्याउन नपाइने चिन्ता, समस्या समाधान भइसकेको महानगरको दाबी

गिता राना

पोखरा ।

गत सिजनमा गवारोका कारण जेठोबुढो धान भित्र्याउन नपाएका पोखरा २३ फेवा फाँट किसान अहिले गहुँमा समेत गवारो देखिएपछि थप चिन्तामा छन् । फेवा फाँटमा सयौं रोपनीमा लगाएको गहुँ खेतीमा समेत गवारो लागेपछि किसानहरु थप चिन्तित बनेका हुन् ।

फेवाफाँटमा लामो समयदेखि धानखेती गर्दै आइरहका स्थानीय कृष्ण बहादुर गुरुङले आफूहरुले अहिलेसम्म गवारोको बारेमा जानकार नै नभएको बताए । ‘अहिलेसम्म जेठो बुढो धानमा गवारो भन्ने थाहा थिएन । गत असोजमा धान फुल्ने बेलामा एक्कासी धान सुक्दै जान थालेपछि गवारो रोग भन्ने बल्ल थाहा पाइयो । असारमा लगाएको धान खेतमै नष्ट भयो ।’ उनले भने, ‘अहिले गहुँमा समेत गवारो लागेको थाहा भयो । कतै धान जस्तै गहुँपनि भित्र्याउन नपाइने त होइन भन्ने चिन्ता लागेको छ।’

गुरुङले गहुँमा समस्या देखिएपछि पोखरा महानगरको कृषि महाशाखामा जानकारी गराईको र त्यहाँबाट विज्ञसहितको टोली आएर हेरेको जानकारी दिए । ‘गहुँमा समस्या देखिएपछि महानगरमा खबर गरेका थियौं । सरहरु आउनु भयो । हेरेर औषधी छर्न लगाउनुभएको छ । अब बाली नष्ट हुन्न भन्नुभएको छ ।’ उनले भने, ‘धान जस्तै गहुँपनि भित्र्याउन नपाइए के गर्ने भन्ने चिन्ता मनमा छ ।’

फेवा फाँटमा पोखरा महानगरले जेठोबुढोको पकेट क्षेत्र निर्माण गर्ने उद्देश्यले जेठोबुढो धान खेती गराउनका लागि कृषकहरुलाई उत्प्रेरित गरेको थियो । तर, गवारो रोगका कारण भित्रयाउने बेलाको जेठोबुढो धान नष्ट भएको थियो । त्यसपश्चात महानगरको कृषि महाशाखाले उक्त क्षेत्रमा गहुँ खेती गर्नका लागि किसानहरुलाई अनुरोध गरेको हो । त्यही गहुँ खेतीमासमेत अहिले फल लाग्ने बेलामा गवारो लागेपछि किसानहरु चिन्तित बनेका हुन् ।

समस्या समाधान भइसक्यो अब चिन्ता मान्नुपर्दैन : महानगर कृषि महाशाखा

फेवाफाँटमा गवारो देखिन थालेको जानकारी पाएपछि आफूहरु फिल्डमै पुगेर समस्याको समाधान गरिसकेको पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख समेत रहेका कृषि विज्ञ मनहर कडरियाले दाबी गरे । उनले गवारोको समस्या समाधानको उपायबारे कृषकहरुलाई जानकारी गराएको र किसानले समेत उपाय प्रयोग गरिसकेकाले अहिले गहुँखेतीमा समस्या भोग्न नपर्ने सुनाए । ‘धान खेती नष्ट हुँदा हामीले सुरुमा जानकारी नपाएका कारण समाधान निकाल्न सकिएन । अहिले किसानहरु सचेत बन्नुभयो र हामीले पनि चासो राख्यौं । गत हप्ता नै फिल्डमा पुगेर केही विषादी प्रयोग गरी गवारोको रोकथाम भइसकेको छ । अब कृषकहरुले चिन्ता मान्नु पर्दैन’ उनले भने ।

कृषकहरुले सात सय रोपनीमा लगाएको जेठोबुढो धान बेलैमा जानकारी नहुँदा गवारोको प्रभाव वढी मात्रामा परेका कारण पनि सम्पूर्ण धान नष्ट भएको थियो त्यसपश्चात गहुँ क्लस्टरका लागि पोखरा महानगरले सहयोग गरेको थियो ।

गवारो लाग्दा के ख्याल गर्ने ?
यो पुतली वर्गको किरा हो । जसको लार्भाले गुभो खाइ बालीमा नोक्सान पुर्‍याउँछ। महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पहेँलो र सेतो गवारोले धान बालीमा नोक्सान गर्दछन्। गुलाबी गवारो र धर्के गवारोले अन्य बालीहरूमा पनि नोक्सान गर्छन् ।

विज्ञहरूका अनुसार गवारोको माउले पातको टुप्पोतर्फ पछाडिको भागमा अण्डा पार्दछ। लार्भा निस्केर डाँठमा प्वाल पार्दै त्यो भित्र पस्छ र गुभो खाँदै तल वा माथि जान्छ ।

त्यसपछि पातहरू भुईँमा झर्छन्। कृषि महाशाखा प्रमुख कडरियाका अनुसार त्यहीँ बेलै उपचार गरेमा धेरै नोक्सान हुनबाट जोगाउन सकिन्छ । गवारोले भित्र खाँदै गएपछि बाला सेतो हुने उनले बताए। गवारो नलागेको हरियो हुन्छ तर गवारो लागेको  बाला सेतो हुन्छ ।

  • १० चैत्र २०८१, आईतवार १०:१६ प्रकाशित