काठमाडौं ।
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् ।
नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँने प्रतिभाशाली व्यक्तिहरुलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरिएको थियो ।
पुरस्कृत हुनेमा टेलिमेडिसिनतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ(गोरखा), विज्ञान प्रविधितर्फ डा आभास मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) छन् ।
यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी साम्बा (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पनि पुरस्कृत भएका छन् ।
प्रधानमन्त्री ओलीसँगै उनीहरुलाई प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मान गरेका हुन् ।नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्न २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो । त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट सोही बराबरको रकम थप गरी पुरस्कार कोष स्थापना गरिएको थियो ।













