पोखरा ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दिपक थापालाई नियुक्त गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । थापा नेपाल प्रहरीका ३१औँ महानिरीक्षक बनेका हुन् ।
दुई वर्षअघि प्रहरी महानिरीक्षक नियुक्त भएका वसन्त कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर सोमबार अवकाशमा गएपछि सरकारले थापालाई महानिरीक्षक नियुक्त गरेको हो । थापासँगै अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ र सुदीप गिरी पनि महानिरीक्षकको प्रतिस्पर्धामा थिए । नवनियुक्त प्रहरी महानिरीक्षक थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थिए ।
उनीसँगै प्रतिष्पर्धामा रहेका तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुखको जिम्मेवारी छन् ।