नेपाल युगान्डासँग ४० रनले पराजित,सकियो फाइनलको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
युगान्डामा जारी वुमन्स डे कप टी–२० क्रिकेटमा बिहीबार भएको खेलमा युगान्डासंग नेपाल पराजित भएको छ । युगाण्डाले प्रस्तुत गरेको ९२ रनको लक्ष्य पछ्याएको नेपाल ४० रनले पराजित भयो । १७ ओभरमा जम्मा ५१ रन बनाउँदा नेपाल अलआउट भएको हो । युगाण्डासंगको पराजयसंगै एक खेल अघि नै नेपाल लिग चरणबाटै बाहिरिने पक्का भएको छ ।

यसअघि पहिलो चरणको खेलमा भने नेपालले युगान्डालाई एक विकेटले पराजित गरेको थियो । बाँकी चार खेलमा नेपाल पराजित भएको हो । नामिवियासँग दुवै खेलमा पराजित भएको नेपालले अन्तिम खेल शुक्रबार हङकङसँग खेल्दैछ । बिहीबार नेपालका लागि ओपनिङमा आएकी कप्तान इन्दु बर्माले १२ बलमा ११ रन बनाइन् । सम्झना खड्का शून्य रनमा आउट हुँदा पूजा महतोले पनि ७ रन मात्रै जोडन् सकिन् ।

रुविना क्षेत्री र ममता चौधरी पनि शून्य रनमै आउट भएपछि नेपालको इनिङ्स धरापमा पर्यो । साना प्रविनले ६, कविता जोशीले १२ रन बनाउँदा एलिसा यादवले पनि ९ रनमै आउट भइन् । इश्वरी बिष्ट र रचना चौधरीले रन जोड्न सकेनन् । अन्तिम विकेटका रुपमा रिया शर्मा २ रनमै आउट भइन् । युगान्डाका मुटोनी इरेन र इमाकुलेट नकिसुइले समान तीन तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाएको थियो । युगान्डाका दुवै ओपनर शून्य रनमै आउट भएपनि त्यसपछि आएका ब्याटरले सम्हालिएर प्रदर्शन गरे ।

एस्तेर इलोकुले २२ तथा रीता मुसमालीले ३८ रन बनाइन्। इमाकुलेट नकिसुइले ४ रनको योगदान दिइन् । स्टेफनी नामपिना १३ र मालिसा अरियोकोट ७ रनमा नटआउट रहे ।

नेपालका लागि रिया शर्माले दुई तथा पूजो महतो, ईश्वरी बिष्ट र रुविना क्षेत्रीले एक एक विकेट लिए ।

  • २९ फाल्गुन २०८१, बिहीबार २०:१६ प्रकाशित