यस वर्ष पर्वतमा आलु उत्पादन वृद्धि हुने अनुमान

केन्द्रभाग मिडिया

पर्वत ।

आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष पर्वत जिल्लामा आलु उत्पादन वृद्धि हुने अनुमान गरिएको छ ।

आलु उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सुरु भएको खायन आलु विस्तार कार्यक्रमअन्तर्गत यही हिउँदमा एक हजार ४५० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो ।

यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । जसअनुसार हिउँदमा मात्र करिब २२ हजार मेट्रिक टन आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । सरदर प्रतिकेजी ४० का दरले किसानले आलु बिक्री गर्दा करिब ८७ करोड आम्दानी हुने अनुमान छ ।

जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३९० हेक्टर क्षेत्रफलमा आलुखेती गर्दा २० हजार ३३० मेट्रिक टन आलु उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सोविता सुवेदीका अनुसार विभिन्न पकेट क्षेत्रमा ६१ वटा कृषक समूहलाई आलु उत्पादनमा एक करोड ४७ लाख अनुदान वितरण गरिएको छ । बीउ खरिदमा ७० प्रतिशत, यान्त्रिकीकरणमा ५० प्रतिशत, सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत र बजारीकरण तथा ‘प्याकेजिङ’मा ७५ प्रतिशत अनुदान दिइएको सूचना अधिकारी सुवेदीले बताए ।

  • २७ फाल्गुन २०८१, मंगलवार १२:३१ प्रकाशित