मातृशिशु अस्पतालका व्यवस्थापन समितिका पदाधिकारीहरूको पदस्थापन

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरा महानगरपालिका वडा १६ मा सञ्चालित मातृशिशु मितेरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारीहरूको पदस्थापन सोमबार सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारको प्रादेशिक अस्पताल गठन आदेश २०८० मा व्यवस्था भए अनुसार जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल अध्यक्ष रहने व्यवस्था अनुसार अध्यक्ष पौडेल सहित समितिका सदस्यहरूको पदस्थापन गरिएको हो।

व्यवस्था अनुसार सम्बन्धित स्थानीय तह प्रमुख पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य , पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की , जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी वा प्रतिनिधि , सदस्य र अस्पतालका व्यवस्थापन समितिका सदस्य सचिव सोहि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रहने व्यवस्था छ ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले पदस्थापन गराएका हुन् ।

सो अवसरमा मन्त्री पाठकले राजनितीमा प्रतिस्पर्धा विकासमा सहभागिताको अवधारणामा काम गर्न सबै पक्षलाई आह्वान गरे। मन्त्री पाठकले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकार सञ्चालित अस्पतालहरूको स्तरोन्नति सहित हर पक्षबाट सबल र सक्षम बनाउन प्रदेश सरकार प्राथमिकताका सहित निति कार्यक्रम निर्माणमा लागेको बताए ।

उनले प्रदेशमा विशिष्टिकृत सेवा सहितका अस्पतालको निर्माणमा सरकार लाग्ने उल्लेख गर्दै स्वास्थ्य सेवा सहज र सरल बनाउदै आम जनताको पहुँचमा रहने सेवाहरूको प्रवाहमा ध्यान पुर्याउन सबैको ध्यानाकर्षण गराए ।

अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष लिलाधर पौडेलले अस्पताललाई समुन्नत र सेवाहरूको सवलीकरणमा सबै निकायहरूको सहयोग र समन्वयमा आफ्नो समिति दत्तचित्त भएर लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष पौडेलले गण्डकी प्रदेश सरकारले परिकल्पना गरेको स्वस्थ गण्डकीबासी ,समृद्ध गण्डकी निर्माणको अभियानलाई सार्थक बनाउन सबै क्षेत्र र समुदाय लागि पर्न आग्रह गरे ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले जनशक्ति सहित अन्य भौतिक र प्राविधिक विकासमा महानगर कटिबद्धता सहित लागी पर्ने उल्लेख गरे ।

सो अवसरमा अस्पतालका पूर्व अध्यक्ष समेत रहेका पोखराका पूर्व मेयर तथा गण्डकी प्रदेश सभा पूर्वसदस्य कृष्ण थापा गण्डकी प्रदेशका स्वास्थ्य सचिव डाक्टर विश्वबन्धु बगाले ,अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष अध्यक्ष उषा बरूवाल, अस्पतालका व्यवस्थापन समितिका सदस्य सचिव मेडिकल सुपरिटेन्डेन्ट डाक्टर धर्मदेव ढकाल सहितले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा अस्पताल व्यवस्थापन समितिका निवर्तमान समितिका पदाधिकारीहरूको बिदाइ समेत गरिएको थियो।

कार्यक्रम सो अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष धर्मराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • २६ फाल्गुन २०८१, सोमबार १५:४५ प्रकाशित