पर्सामा मिटर ब्याज पीडितद्धारा आत्मदाहको प्रयास

केन्द्रभाग मिडिया

काठमाडौं ।

पर्सामा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय अगाडि सोमबार करिब साढे १२ बजेको समयमा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेको पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले जानकारी दिए ।

मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै बाराको पचरौता नगरपालिका ४ घर भई पर्साको वीरगञ्ज नगरपालिका-२४ बस्ने करिब ६० वर्षीय बृजकिशोरप्रसाद साहले आत्मदाहको प्रयास गरेका हुन् ।

‘आज साढे १२ बजेको समयमा साहले हातमा मुसा मार्ने विषादी बोकेर शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्न खोजेको बताइएको छ । तर तत्काल प्रहरीले थाहा पाएपछि उनको उद्धार गरी नारायणी अस्पताल पुर्‍याएको र अहिले उनको अवस्था सामान्य रहेको सीडीओ अर्यालले बताए ।

 साहले एक लाख ५० हजार रुपैयाँ ऋण लिएको र सो बापत उनले ६ लाख रुपैयाँ मूल्य पर्ने जमिन पास गरिदिएको खुल्न आएको छ । अहिले उक्त ऋण चुक्ता गरेर जमिन फिर्ता लिन खोज्दा नमानेको खुल्न आएको छ ।

  • २६ फाल्गुन २०८१, सोमबार १४:४९ प्रकाशित