करिव ३ करोड दान संकलन गर्दै सकियो सराङकोट महायज्ञ

१ लाख ६० हजार भक्तजन सहभागि, बहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन

केन्द्रभाग मिडिया

 

पोखरा ।

सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव आज बुधबारदेखि सकिएको छ । महायज्ञमा कुल २ करोड ८८ लाख बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिए । यसअघि मंगलबारसम्म २ करोड ८ लाख दान संकलन भएकोमा आज बुधबार मात्रै ८० लाख बढी दान थपिएको हो । योसँगै सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले यज्ञ मार्फत संकलनको लक्ष्य राखेको ३ करोड करिव पूरा भएको छ ।

आज महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबाट त्यहाँ निर्मित बहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले सराङकोट धामको रुपमा विकास भएकोमा खुशी व्यक्त गरे पोखरा भ्रमण वर्ष सफल बनाउन सराङकोट धामले भूमिका खेल्ने विश्वास प्रकट गरे ।

अव पर्यटक हिमाल हेर्न, सूर्योदय र सूर्यास्तको अवलोकन गर्न मात्रै सराङकोट आउने होइन, यो अव कोट मात्रै रहेन, सराङकोटमा अन्य धेरै आयाम थपिएका छन् प्रमुख आचार्यले भने ।
उनले सराङकोटमा निर्माण गर्न बाँकी संरचना बनाउन महानगरले सहयोग गर्ने विश्वास दिलाउँदै सराङकोट धार्मिक पर्यटकीय स्थल भएको औँल्याए ।

महायज्ञका सहअध्यक्ष समेत रहेका वडा नम्बर १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले धेरै दानदाताको सहयोगबाट सराङकोट धाम सिञ्चीत भएको स्पष्ट्र पार्दै उत्साहजनक सहभागिताका बीच यज्ञ सफल भएको धारणा बताए । कार्यक्रमका बीच प्रमुख वाचक भागवत् भाष्कर प.कमलनयन गौतमसहित सहयोगी विभिन्न संघसंस्था एवम् व्यक्तिलाई सम्मान गरिएको थियो ।

महायज्ञमा कास्की, तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, म्याग्दी, धादिङ समेतबाट गरी करिव १ लाख ६० हजार भक्तजनले सहभागि जनाएको महायज्ञका महासचिव शमसेरबहादुर थापाले जानकारी दिए । यि मध्ये करिव ६० प्रतिशत अन्नपूर्ण केवलबार मार्फत तथा अन्य महायज्ञका निःशुल्क वस एवम् स्वस्र्फूत रुपमा सराङकोट धाम पुगेको आयोजकले जनाएको छ ।

सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।

यहि १४ फागुनमा महाशिवरात्रीको दिनदेखि सुरु उक्त सराङकोट यज्ञको यसअघि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको समापन समारोहमा वडाध्यक्ष तिमिल्सीनाले स्वागत तथा महायज्ञका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गरेका थिए ।

  • २१ फाल्गुन २०८१, बुधबार २१:२६ प्रकाशित