सराङकोट धार्मिक महाउत्सवको उद्घाटन

युवा जनशक्तिको पलायन रोक्नुपर्छ : राष्ट्रपति

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा १८ मा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवसगैं यहाँ निर्मित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालय लगायतका भौतिक संरचनाको औपचारिक रुपमा उद्घाटन गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले एक भव्य धार्मिक समारोहका बीच शनिबार महायज्ञसहित निर्मित संरचनाको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्वदेशमै रोजगारका अवसरहरु जुटाएर युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्नुपर्नेमा जोड दिए । उनले युवा पलायनको अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सवै पक्ष गम्भिर बन्न समेत सराङकोटबाट सम्बद्ध सबै निकायलाई आह्वान गरेका छन् । उनले भने, ‘युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय हो । यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गम्भीर बनून् भन्ने मेरो आग्रह छ ।’

राष्ट्रपति पौडेलले देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारको विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए । पोखरा र यस क्षेत्रको सुन्दरताको चर्चा गर्दै उनले यहाँको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेको बताए ।

उनले यहाँका पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । निजी क्षेत्रलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको र यसका लागि आवश्यक नीति, नियम र कानून निर्माण गरेर उनीहरुलाई प्रोत्साहन गर्ने गरि काम गर्न संघ, प्रदेश र स्थानीय गरी तीन वटै तहका सरकारलाई उनले आग्रह गरेका छन् ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सदियौं देखिको धार्मिक क्षेत्र सरांकोटमा निर्माण भएका संरचनाले आगामी दिनमा अझै यहाँको गौरव बढाउने विश्वास प्रकट गरे । उलने सराङकोट बाट देखिने हिमसृंखला र सूर्यदयको दृष्य लगायतका कारणले यसको महत्व निकै रहेको उनको भनाई छ । गण्डकी प्रदेश सरकारले पर्यटनलाई समृद्धिको आधारको रुपमा लिएको भन्दै उनले प्रदेश सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यहाँको धार्मिक एवं संस्कृतिमा रमाउने भारतीय पर्यटक र प्रकृतिसंग रमाउने चिनियाँ पर्यटक दुबैलाई आकर्षण गर्नुपर्नेमा जोड दिए । दुई विशाल जनसंख्या रहेका देशका पर्यटक आउनका लागि व्यापक प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा देशकै पर्यटकीय राजधानी घोषणा भइसकेपछि विकास साझेदार संस्थाहरुको प्राथमिकतामा परेको जानकारी दिए । उनले सराङकोटमा आयोजित महायज्ञ र यहाँ निर्मित संरचनाले पोखरामा थप पर्यटकीय आयाम थपिएको उल्लेख गरे ।

राष्ट्रपति पौडेललाई पोखरावासीको तर्फबाट स्वागत गर्दै उनले राष्ट्रपतिको उपस्थितिले पोखराको गौरव बढेको बताए । पोखरा प्रकृति, संस्कृति र साहसिक सबै हिसावले उत्कृष्ट गन्तव्य रहेको चर्चा गरेका उनले यहाँ धार्मिक एवं पर्यटकीय संरचना बन्ने क्रमले निरन्तरता पाइरहेको बताए ।

विशाल शिवमन्दिर, नेपालकै पहिलो बिशाल पञ्चमुखी गणेश मुर्ति, भ्यूटावर, १०८ शिव लिङ्ग, १०८ धारा, भूमे कालिका मन्दिर, गणेश मन्दिर, होमन कुण्ड, स्वागतद्वार, बहुउद्देस्यीय भवन लगायतका भौतिक संरचना सराङकोटमा निर्माण भएका भएका छन् ।

सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिको नेतृत्वमा २०६१ देखि वृहत गुरुयोजना मार्फत उत्तm परियोजना निर्माण हुदै हालसम्म ४ पटक आयोजना भएका महायज्ञ तथा दाताको सहयोग र सरकारको सहयोगमा उक्त संरचना निर्माण भएका हुन् । महाशिवरात्रि देखि आरम्भ भएको महायज्ञमा भागवत् भाष्कर पण्डित कमलनयन गौतमले भागवत बाचन गरिरहेका छन् ।

पोखरा महानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष शिव प्रसाद तिमिल्सिनाले सराङकोट, आफैमा पर्यटकीय हुदै प्रसिद्ध धार्मिक क्षेत्रको रुपमा समेत विकसित हुदै आएको र निर्मित संरचनाले यसको उचाई अझै बढाएको बताएका छन् ।

 

 

  • १७ फाल्गुन २०८१, शनिबार १७:४० प्रकाशित