पोखरा ।
पोखराको न्युरोडमा रहेको शर्मा आईटी हबमा आगलागी भएको छ । साँझ करिव ७ बजे भएको आगलागीबाट पसलका सबै सामान नस्ट भएको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । पसल सञ्चालक रमेश शर्मा लूहारका अनुसार पसल भित्र रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, इन्भर्टर, ब्याट्री लगायतका विभिन्न पार्ट्सहरु सबै जलेर नस्ट भएको छ । आगलागीबाट करिब १ करोड बराबरको क्षति भएको छ ।
दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण थापामागरले जानकारी दिए ।
आगलागी भएको सूचना आउनासाथ प्रहरी निरीक्षक किरण थापा मागरको कमाण्डमा ३५ जनाको टोली र सशस्त्र प्रहरी बल २४ गण हेड क्वाटरबाट सशस्त्र प्रहरी निरीक्षक रमेश कंडेलमा खटिएको २६ जनाको टोली, दमकल र स्थानीयको सहयोगमा करिव ८ बजे आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको हो ।
आगलागीबाट श्यामा श्याम ट्रेडस सोलार ब्याट्री पसलमा समेत क्षति भएको छ । सोलार र व्यट्रीमा क्षति भएको जनाइएको छ ।















