इरानका विदेशमन्त्रीलाई विपिन रिहाइका लागि परराष्ट्रमन्त्री आरजुको फोन

केन्द्रभाग मिडिया

काठमाडौँ ।

हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहलका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छिन् ।

हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री आरजुले गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् ।

त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्री आरजुको निजी सचिवालयले जनाएको छ ।

इजरायल र हमासबिच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले मुक्त गर्न थालेका छन् ।

हमासको नियन्त्रणबाट विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहललाई जारी राखेको छ । यसक्रममा मन्त्री डा राणाले अघिल्लो हप्तामात्र इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी पहलका लागि आग्रह गरेकी थिइन् ।

इजरायल र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री आरजुले हमाससँगको शान्ति वार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्दै आइरहेकी छिन् ।

केही हप्ताअघि मन्त्री डा. राणाले इजरायलका विदेशमन्त्रीसँग फोनवार्ता गरेकी थिइन् । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डितले पनि केही दिन अघि इजरायलका राष्ट्रपतिसँग फोनमा सो आग्रह गरेका थिए ।

  • २५ माघ २०८१, शुक्रबार ११:५९ प्रकाशित