पोखरा ।
सरकार र प्रदेश सभाको छुट्टाछुट्टै मनाइँदै आएको दिवस कार्यक्रम अब एकै दिन मनाइने भएको छ ।
यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकार स्थापना दिवस छुट्टाछुट्टै मनाइदै आएको थियो तर यस पटक भने एकै दिन दिवस मनाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।प्रदेशसभाको परिसरमा मनाइने प्रदेश दिवसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सम्बोधन गर्ने मन्त्रिपरिषद् कार्यालयले बताएको छ।
२०७४ माघ २२ गते गण्डकी प्रदेशसभाको पहिलो बैठक बसेको थियो । सोही दिनलाई नै प्रदेशसभाले स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो । २०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शपथ लिएका थिए । सोही दिन मन्त्रिपरिषद्को पहिलो बैठकसमेत बसेको थियो ।
त्यस दिनलाई नै प्रदेश सरकारले स्थापना दिवसको रूपमा मनाउँदै आएको थियो । स्थापना दिवसको अवसरमा फागुन ४ गते सरकारले प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको थियो । उक्त बिदा पनि यस पटकदेखि कटौती गरिएको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पहलमा माघ २२ मा गण्डकी प्रदेश दिवस मनाउने निधो गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश दिवस मनाउन प्रमुख सचिव रघुराम विष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।














