माघ महिनाको संसद् बैठकको क्यालेन्डर तय : संसद् बैठक ७ दिन बस्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सभामुखसहित पाँच दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूबिचको छलफलले माघ महिनाको संसद् बैठकको क्यालेन्डर तय गरेको छ । माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु भएपछि सात दिनसम्म प्रतिनिधिसभाको बैठक राख्न सहमति जुटेको छ ।

सोमबार सभामुखसहित दलका नेताहरूबिचको छलफलमा माघ १८ गते सुरु हुने संसद्को हिउँदे अधिवेशनको बैठक २२, २३, २४, २८,२९ र ३० गतेलाई राख्न दलहरूबिच सहमति जुटेको हो ।

‘१८ गतेको बैठकमा सबै अध्यादेश पेस हुन्छ । त्यसपछि २२ गते अध्यादेशहरू निर्णयार्थ पेस गरिनेछ,’ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘२५,२६ र २७ संसदीय समितिहरू बस्नेछन् ।’

प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरूले समेत १८ गतेको बैठकमा सम्बोधन गर्नेगरी दलहरूबिच छलफल भएको छ । आगामी संसदको हिउँदे अधिवेशन परिणाममुखी बनाउने कुरामा सत्तापक्ष र प्रतिपक्ष सहमत रहेको बर्तौलाको भनाइ छ ।

  • १४ माघ २०८१, सोमबार १४:४० प्रकाशित