आज कांग्रेस संसदीय दलको बैठक बस्दै

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।
संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् ।

उनका अनुसार यही १८ माघमा सुरु हुने हिउँदे अधिवेशनमा कांग्रेसका सांसदले खेल्नुपर्ने भूमिकाबारे आवश्यक रणनीति तय गर्न बैठक बस्न लागेको हो । बैठकमा सरकारले ल्याएका अध्यादेश, संसदमा दर्ता भएका विधेयकलगायत विषयमा सांसदहरूको एकै धारणा बनाउने र संसदमा एकढिक्का भएर प्रस्तुत हुने बारेमा छलफल हुनेछ ।

यसअघि शनिबार पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, सांसद तथा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफलमा संसदमा दर्ता भएका विधेयक र अध्यादेशको पक्षमा एकढिक्का हुन निर्देशन दिएका थिए ।

  • १३ माघ २०८१, आईतवार ०७:४६ प्रकाशित