स्याङ्जा ।
स्याङ्जामा शीत भण्डार स्थापनासँगै उत्पादित कृषिजन्य वस्तुको भण्डारमा सहज भएको छ । कृषिजन्य वस्तु उत्पादन भएकै समयमाभन्दा केही समय भण्डारण गरेर बिक्री गर्दा राम्रो बजार मुल्य पाउने भएकाले जिल्लाका विभिन्न पालिकामा शीत भण्डार स्थापना गरिएको हो ।
विशेष गरी जिल्लामा धेरैमात्रामा उत्पादन हुने सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारणका लागि शीत भण्डारले सहज भएको हो ।
‘केन्द्र, प्रदेश र स्थानीय सरकारको लागत साझेदारीमा स्याङ्जाका विभिन्न स्थानीय तहमा शीत भण्डार निर्माण भएका छन्’ उनले भने, ‘यहाँ सञ्चालनमा रहेका शीत भण्डारमा कृषिजन्य उत्पादनको भण्डारणमा सहज भएको छ ।’
जिल्लामा शीत भण्डार नहुँदाको बखतमा यसअघि भैरहवा, पोखरालगायतका ठाउँमा रहेका शीत भण्डारमा विशेष गरी सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारण गर्नुपर्ने बाध्यता रहेको थियो ।
स्याङ्जाको वालिङ नगरपालिकामा तीन, गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिकामा दुई–दुई वटा, आँधीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, चापाकोट नगरपालिकामा एक–एक वटा शीत भण्डार रहेका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–११ जैंसीडाँडामा जिल्लामै सबैभन्दा ठूलो क्षमताको स्याङ्जा शीत भण्डार स्थापना भई सञ्चालनमा आएको छ । उक्त शीत भण्डारको क्षमता एक हजार दुई सय मेट्रिकटन रहेको छ ।
जिल्लामा हाल सञ्चालनमा रहेका १० वटा शीत भण्डारमा कुल दुई हजार १०० मेट्रिकटन कृषिजन्य उत्पादन भण्डारण गर्न सकिने उनले बताए । रासस














