पोखरा ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले प्रवेश गर्न लागेका पार्टी एकता अभियानका संयोजक बामदेव गौतमलाई सफल बन्न र एमालेलाई सुधारको बाटोमा ल्याउने भूमिका खेल्न शुभकामना दिएका छन । पोखरामा बुधबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले नेता गौतमलाई यस्तो शुभकामना दिएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले बामगदेव गौतमले विगतमा कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको समेत बताए । ‘हामीले राम्रो गरेकालाई राम्रो गरेको भन्न सक्नुपर्छ । योगदान दिएकालाई सम्मान गर्न सक्नुपर्दछ । उहाँ (बामदेव गौतम) ले कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ’ उनले भने, ‘बामदेव कम्रेड एमाले जान्छु भन्नुभएको छ । जानुहोस । सफल बन्नुहोस् । एमालेलाई क्रान्तिकारी बनाउन सफल बन्नुहोस् । तपाईलाई शुभकामना छ ।’
अध्यक्ष नेपालले विगतमा पार्टीले दिएको जिम्मेवारी अनुरुप रोल्पादेखि विभिन्न ठाउँमा पुगेर माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने क्रममा महत्वपूर्ण भूमिका खेलेको स्मरण समेत गरे । उनले कम्युनिष्ट पार्टी आन्दोलनको नीति स्पष्ट हुनुपर्ने र त्यसलाई कार्यान्वयन गर्ने नेतृत्व इमान्दार हुनुपर्ने धारणा राखे । आफ्नो पार्टीले नेपाली विशेषताको समाजवादको मोडेललाई अगाडि सारेको उनले दाबी गरेका छन् ।














