दमौली ।
निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ ।
वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।
आयोजनाले उक्त केन्द्रको परिसरमा स्थानीय स्रोत र साधनको प्रयोग गरी पाँच वटा टेलिस्कोपिक खम्बा जडान गरेको छ । हरेक खम्बामा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ । फलामको आर्मका कारण गिद्धलाई कुनै नकारात्मक असर पर्न नदिइ सुरक्षित बनाउन आर्मलाई काठले ढाकिएको छ । खम्बाको टुप्पोमा काठको ढकनी लगाइएको छ । त्यसमा गिद्ध सुरक्षित रुपमा बस्न सक्नेछन् । आहाराका लागि आउने र खाएपछि गिद्धलाई आराम गर्नका उक्त खम्बा जडान गरिएका हुन् ।
नगरपालिकाको सक्रियतामा दमौली बजारभन्दा करिब छ किलोमिटर दूरीमा रहेको मादी नदी किनारमा गौ संरक्षण केन्द्र सञ्चालित छ । करिब २०० रोपनी जग्गामा सञ्चालित केन्द्रमा नगरपालिका क्षेत्रमा बेवारिसे अवस्थामा रहेका र बूढा भएका गाईगोरु ल्याउने गरिएको छ । गाईगोरु मरेमा त्यहीँ रहेको खाल्डोमा राखिने भएकाले आहाराका लागि गिद्ध त्यहाँ आउने गरेका छन् । रासस














