विद्यालय नाटक महोत्सवमा १६ नाटक छानिए

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा थिएटरले आयोजना गरेको दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सवका लागि १६ नाटक छनोट भएका छन् ।

महोत्सवको लागि प्राप्त कुल २४ नाटक मध्येबाट १६ नाटक पहिलो चरणमा छनोट गरिएको महोत्सव संयोजक समेत रहका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । ‘नाटकको विषयवस्तु, भाषाशैली, संवाद, प्रस्तुती आदिलाई आधार मानेर छनोट कमिटिले १६ नाटकलाई छनोट गरेको हो’ उनले भने ।

उत्कृष्ट नाटक छनोटका लागि वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति बनाइएको थियो । जसको सदस्यमा निर्देशक तथा कलाकार माओत्से गुरुङ र कलाकार प्रमिला तुलाचन रहेका छन् ।

अब छनोटमा परेका नाटकहरुलाई १५ दिनको रिहर्सल (पूर्वाभ्यास) अवधि उपलब्ध गराइने छ । त्यस पछाडि छनोट कमिटिले नाटकको अवलोकन गर्ने छ । अवलोकन पछाडि १० नाटकलाई अन्तिम चरणमा छनोट गरिने आयोजकको तयारी छ । यसरी छनोट भएका नाटक आगामी माघ ११ गतेदेखि १५ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ ।

पहिलो चरणमा कास्की जिल्लाबाट तीन नाटक छनोटमा परेका छन् । जसमा मनोज अधिकारीको लेखन तथा सोनिया कार्की खत्रीको निर्देशनमा भानुभक्त आवसीय माध्यमिक विद्यालयको शान्तिको अशान्ति शिर्षकको नाटक, आर्या मिश्रको लेखन तथा निर्देशनमा गण्डकी बोर्डिङ्ग स्कूलको पिडा शिर्षकको नाटक र सुनिता ज्ञवालीको लेखन तथा निर्देशनमा धर्मस्थली आधारभूत विद्यालयको आरोह अवरोह शिर्षकको नाटक रहेका छन् ।

तनहुँ जिल्लाबाट दूई नाटक छनोटमा परेका छन् । टुकादेवी पौडेलको लेखन तथा निर्देशनमा पञ्चमुनिदेव माध्यमिक विद्यालयको नाम बिनाको चिर्कटो र आकाश अधिकारीको लेखन तथा नारायणी अधिकारीको निर्देशनमा आदिकवि भानुभक्त क्याम्पसको समय संवाद शिर्षकको नाटक रहेका छन् ।

लमजुङ जिल्लाबाट तीनवटा नाटक छनोटमा परेका छन् । जसमा भरत रानाको लेखन तथा निर्देशनमा युनिभर्सल एकेडेमीको धनवहादुर शिर्षकको नाटक, मिरा नेपालीको लेखन तथा प्रतिभा अधिकारीको निर्देशनमा शैलपुत्री नमुना माध्यमिक विद्यालयको नारीको सम्मान मानवताको पहिचान शिर्षकको नाटक र सुर्य बहादुर के.सी.को लेखन तथा पशूपति न्यौपानेको निर्देशनमा विद्याज्योति माध्यमिक विद्यालय सुन्दरबजारको जीउँदालाशहरु शिर्षकको नाटक रहेका छन् ।

यसैगरी गोरखाबाट अनिता देसाईको लेखन तथा सुरेन्द्र देवकोटा नाट्य रुपान्तरण एवं निर्देशनमा शक्ती माध्यमिक विद्यालयको एक समर्पित छोरा शिर्षकको नाटक छनोटमा परेका छन् ।नवलपुर जिल्लाबाट चारवटा नाटक छनोटमा परेका छन् ।

जसमा लिलाबहादुर भण्डारीको लेखन तथा निर्देशनमा कुमारी प्रा.वि.को हराएको खुशी, डिला भट्टराई, लक्ष्मी सापकोटा र विष्णु काफ्लेको लेखन तथा सृष्टि भट्टराईको निर्देशनमा सरस्वती माध्यमिक विद्यालयको असलबुहारी, खगराज सापकोटाको लेखन तथा निर्देशनमा त्रिभुवन माध्यमिक विद्यालयको जिम्मेवार को ? र अनामिका सापकोटाको लेखन तथा कमला कँडेलको निर्देशनमा बरचुली माध्यमिक विद्यालयको सक्षम छात्रा शिर्षकको नाटक रहेका छन् ।

म्याग्दी जिल्लाबाट बेनी सामुदायिक माध्यमिक विद्यालयको बाल विवाह शिर्षकको नाटक छनोट भएको छ । कर्ण बस्यालले लेखेको यस नाटकलाई रामचन्द्र पौड्यालले निर्देशन गरेका छन् ।

बाग्लुङ जिल्लाबाट कालीगण्डकी आवासीय माध्यमिक विद्यालयको विदेशिनु पर्दाको पिडा शिर्षकको नाटक छनोट भएको छ । जीवननाथ शर्मा रेग्मीको लेखन तथा अर्जुन थापाको निर्देशनमा यो नाटक तयार भएको छ ।

यस्तै पर्वत जिल्लाबाट न्यु होराइजन आवासीय माध्यमिक विद्यालयको मेरो समाजमा नारी शिर्षकको नाटक छनोटमा परेको छ । मिना रेग्मीको लेखन रहेको नाटकलाई रेजिना मल्लले निर्देशन गर्नुभएको छ ।‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एंव नेपाल सङ्गीततथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र पोखरा प्रज्ञा–प्रतिष्ठानपोखराले सहकार्य गरेका छन् ।

गएको वर्षदेखि पोखरा थिएटरले गण्डकी विद्यालय स्तरिय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । त्यसभन्दा अगाडि थिएटरले पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सव समेत आयोजना गरेको थियो ।

  • ९ पुष २०७८, शुक्रबार १५:२१ प्रकाशित