पोखरा ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिको भ्रष्टिकरणले राज्य सत्ताको रुपान्तरणको अभियान अबरुद्ध भएको बताएका छन् ।
शनिबार पोखरामा प्रेस सेन्टर कास्कीको अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा एकै पटक विकासका धेरै सम्भावना रहेका औल्याउँदै सम्भावना हुँदाहुँदैपनि भ्रष्टाचारका कारण समस्या रहेको उल्लेख गरे ।
यहाँको जलस्रोत, जलउर्जा, कृषि, पर्यटन जस्ता असाध्य धेरै सम्भावना हुँदाहुँदै राजनीतिक भ्रष्टिकरणकै कारण देश पछाडि परेको उनको कथन थियो । आफ्नो पार्टी नेतृत्वको सरकारले भ्रष्टाचारलाई रोक्न गरेको प्रयासलाई ठूलै शक्ति लगायर रोक्ने प्रयास गरेको उनको भनाई छ ।
देशमा भएका राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नका लागि पनि विदेशमा रहेका ३० लाख श्रमिकलाई देशमै अबसर देखाएर फर्काउन सक्नुपर्ने उनले धारणा राखे । ‘आज अथाहा सम्भावना हुँदाहुँदै आफ्नो बाबुआमाको काख र बालबच्चाको साथ छाडेर ३० लाख श्रमिक विदेशमा काम गर्न बाध्य छन् । उनीहरुलाई स्वदेशमै नफर्काउँदा सम्म राजनीतिक परिवर्तनको आचित्य पुष्टि हुन सक्दैन ।’ उनले भने ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रमा पनि सुद्धीकरणको आवश्यकता औंल्याए । उनले अरु केही व्यवसाय नभए एउटा मोवाइल लिएर अनलाईन चलाउनेकाम पत्रकारिता भित्रका बिकृतिको रुपमा औंल्याए । आलोचनात्मक चेत विना र अध्ययन विना पत्रकार बन्न नसकिने उनको भनाई थियो । साथै पत्रकारितामा साहसको जरुरी रहेको समेत उनले धारणा राखे ।