धनकुटा ।
धनकुटाको पाख्रीबासमा बोलेरो पिकअप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । को १ ज २६३९ नम्बरको उक्त पिकअप पाख्रीबास नगरपालिका-३ जौटारमा बिहीबार राति सवा ९ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
पाख्रीबास–हिले सडकबाट १ सय ५० मिटर तल खस्दा पिकअपका चालक र सहचालक दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
मृत्यु हुनेमा चालक पाख्रीबास नगरपालिका-९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सहचालक सिराहा जिल्लाको लहान नगरपालिका-५ का प्रमोद मल्लिक रहेका छन् । सहचालक मल्लिकको घटनास्थलमा नै ज्यान गएको थियो । यस्तै चालक तामाङको गम्भीर घाइते भएर जिल्ला अस्पताल लैजाँदै गर्दा ज्यान गएको जनाइएको छ ।
दुवै शव जिल्ला अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।