दुई कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक

एमालेको निशानामा प्रचण्ड र माओवादीको निशानामा ओली

केन्द्रभाग मिडिया

पोखरा ।
आइतबारदेखि सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी मुख्यालय  च्यासलमा एमाले  र धुमबाराही स्थित एक होटलमा माओवादी केन्द्रको जारी बैठकमा एक अर्काे दलका अध्यक्षलाई निशानामा राख्दै एमाले र माओवादी केन्द्रका अध्यक्षले आ–आफ्नो बैठकमा क्रमस ३२ पृष्ठ र ३० पृष्ठको प्रतिवेदन पेश गरेका छन् ।

सरकारको समेत नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले केन्द्रीय कमिटीमा पेश गरेको प्रतिवेदनमा प्रचण्डलाई अस्थिरता, अराजकता र प्रायोजित निराशाको प्रयास गरिरहेको पात्रका रूपमा चित्रित गरेका छन् । उनले माओवादी केन्द्रले कोशी नामाकरणको विरुद्ध उग्रजातियतावादी समूहहरूसँग मोर्चाबन्दी गरिरहेको र राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याउन उद्दत देखिएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

ओलीले आफ्नो प्रतिवेदनमा माओवादी नेतृत्वले पूर्वराजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको आरोप पनि लगाएका छन् । त्यसैगरी सरकारमा रहँदा आफैंले कारबाही गरेका व्यक्तिहरू र समूहको खुल्ला समर्थनमा उत्रिएको लगायतका आरोप प्रचण्डविरुद्ध ओलीले लगाएका छन् ।

यता नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा ओली नेतृत्वको वर्तमान सरकार माओवादी केन्द्र नेतृत्वको सरकारको सुशासन र भ्रष्टाचारविरोधी अभियान रोक्न बनेको विश्लेषण गरेका छन् । प्रचण्डले त्यसअनुसार गतिविधि गर्दै वर्तमान सरकार अगाडि बढेको उल्लेख गरेका छन् ।

आफू नेतृत्वमा रहेको सरकारले सुशासन र भ्रष्टाचारको विरुद्धमा लिएको पहलकदमी वर्तमान सरकारले छाडेको र समग्रमा केपी ओली नेतृत्वको सरकार जनताको पक्षमा नभएको अध्यक्ष प्रचण्डले उल्लेख गरेका छन् ।

 

 

  • २२ पुष २०८१, सोमबार ०८:३४ प्रकाशित