पोखरा ।
आज डिसेम्बर २५ अर्थात क्रिसमस डे । इसाई धर्मावलम्बीले आज क्रिसमस दिवस मनाउँदैछन् । येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको भनिन्छ ।
येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा ईस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।
क्रिसमस दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । यस अवसरमा आज देशभरका चर्चहरुमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ ।
क्रिसमसका अवसरमा देशको पर्यटकी राजधानी पोखरा, संघीय राजधानी काठमाडौंसहित ललितपुर र भक्तपुरलगायतका शहरहरुमा विशेष रौनक छ । बजार र ठूला व्यापारिकस्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।
क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधामन्त्री र विभिन्न दलकालगायतले शुभकामना सन्देश दिनुभएको छ ।