हुम्लामा हिउँमै बसेर पढ्दैछन् बालबालिका

केन्द्रभाग मिडिया

सिमकोट ।
हुम्लामा हिउँ परेर चिसो बढे संगै हुम्लाका विद्यार्थीहरु मिउँमै बसेर अध्ययन गर्न बाध्य भएका छन । हिउँले जाडो बढेपछि विद्यार्थी कोठा बाहिर घाम ताप्दै हिउँमै बसेर अध्ययन गरिरहेका छन ।

हुम्लाको सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयले हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको छ । कक्षा भित्र झन् बढी जाडो हुने भएकाले सबै कक्षा बाहिर हिउँ जमेको चौरमै सञ्चालन भइरहेका छन् ।

हिमपात भएपछि कक्षाकोठामा निकै जाडो हुने भएपछि बाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको शिक्षक यज्ञबहादुर शाहीले बताए । ‘मंसिर अन्तिम भएका कारण त्यसै त चिसो बढेको र त्यसमाथि झन् हिमपातको कारण चिसो निकै बढेकाले चौरमा राखेर पढाउनुको विकल्प छैन’, उनले भने ।

विद्यालयले चौरमा बाल विकासदेखि कक्षा दशसम्मका झण्डै तीन सय विद्यार्थीलाई राखेर पढाइरहेको छ । हुम्ला जिल्लाका सबै विद्यालयमा यो शैक्षिक सत्रको अन्तिममा पढाइ भइरहेको छ । पुस पहिलो साताबाट वार्षिक परीक्षा सञ्चालन हुन लागेको छ ।

  • २७ मंसिर २०८१, बिहीबार ०९:०४ प्रकाशित