रवि लामिछानेसहित ४ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै

केन्द्रभाग मिडिया

पोखरा ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएको छ । म्याद सकिने भएकाले रविलाई आज पुन अदालत उपस्थित गराउन लागिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ ।

अझै केही दिन हिरासतमै राखेर अनुसन्धान गर्ने गरी म्याद थपको माग गर्ने र अर्को पटकमा अदालतमा अनुसन्धान प्रतिवेदनसहित मुद्दा पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेसहित पूर्वडीआईजी तथा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका रामबहादुर खनाल र जीवीसँग जोडिएकी लिला पछाइलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

सहकारी सम्बन्धि छानबिन गर्न गठित विशेष संसदीय समितिको सिफारिसमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेसहितलाई सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । रवि संलग्न रहेका भनिएका सहकारी रहेको भन्दै पक्राउ पुर्जी जारी भएका जिल्लामा रविको बयान गराइएको छ ।

संसदीय समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाएको छ र ती सबै ठाउँमा रविको बयान गराइएको छ ।

  • २७ मंसिर २०८१, बिहीबार ०८:५७ प्रकाशित