मलाई देखेर केपी ओलीको सातो गइरहनुपर्छ : माधव नेपाल

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूलाई संसदमा देखेर एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो जाने गरेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको आयोजनामा मंगलबार पोखरामा भएको प्रदेश स्तरीय बृहत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मलाई देख्यो भने केपी ओली र उनको प्रवत्तिको सातो जान्छ । त्यही भएर संसदमा मेरो उपस्थिति अनिवार्य छ । नत्र माधव नेपाल भाग्यो भन्न बेर लाउँदैनन् । विभिन्न चलखेल गर्छन्’ उनले भने ।

उनले केपी ओली र उनका मान्छेको सातो गएर कही नहुने जनताको सातो जान नहुने बताए । ‘जनताले आनन्दको सास फेर्न पाउनुप¥यो र देश अग्रगतीमा जानुप¥यो । केपी ओली र उनका मान्छेको सातो गएर केही हुन्न । उनको सातो गइरहनुपर्छ , गइरहोस्’ उनले भने ।

एमालेले संसदमा अबरोध गरेर संविधान, सवोच्च अदालत र निर्वाचन आयोगको समेत अपमान गरेको उनको भनाई छ । ‘नेपालको संविधान अनुरुप, निर्वाचन आयोगको निर्णय र सर्वोच्चको आदेश विपरित एमालेले संसद अबरुद्ध गर्ने काम गरेको छ ।’ उनले भने, ‘अझै ओली र उनका मान्छेहरुले संसदमा उभिएर संबैधानिक सर्वोच्चता कायम गर भनिरहेका छन् । उनीहरु आफै संविधानको बर्खिलाप जान्छन् । निर्वाचन आयोगको निर्णयको बर्खिलाप जान्छन् । अनि भन्छन्, संविधानिक सर्वोच्चता कायम गर ।’

अध्यक्ष नेपालले नेकपा एमालेमा विद्रोहका विष्पोटका आवाज आफूले सुनिरहेको टिप्पणी गरे । एमालेमा आफ्नो साथ छोडेर एमालेमै रहेका नेताहरुले ओलीलाई सुधार्न नसक्ने उनले बताए ।

ओली सुध्रिन्छन् भन्ने लागेर बसेका साथीहरु त्यहाँ पिल्सिएका छन् भन्दै उनले त्यसरी पिल्सिएर नवसी एकीकृत समाजावादीमा आउन आह्वान गरे । ‘म यहीँबाट ओली सुध्रने आसमा बसेका साथीहरुलाई आह्वान गर्नचाहन्छु ।

तपाईहरुको अपेक्षा पुरा हुँदैन । ओली सुध्रदैनन् । उनीमा व्यक्तिवाद छ । दम्ब, दक्षिणपन्थी गुटवाद र निरंकुश प्रवृत्ति छ । त्यहाँ बसेर पिल्सिने काम नगर्नुस् आउनुस् हामीले स्वागत गर्न तयारी अवस्थामै छौं’ उनले भने ।

प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै श्रम तथा रोजगार मन्त्री किसान कुमार श्रेष्ठले गठबन्धनलाई हेरेर नभई आफ्नो पार्टीले जनतालाई हेरेर एमसीसी बारे निर्णय लिने बताए । एमालेले गठबन्धनबाट नेकपा एकीकृत समाजवादी हटाउने सर्तमा एमसीसी पास गर्ने भन्दै कांग्रेससंग प्रस्ताव राखेको भन्दै उनले यस्तो बताएका हुन् । उनले आफूले गण्डकी प्रदेश र सिंग नेकपा एकीकृत समाजवादीको इज्जत राख्नेगरी काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेकपा एस गण्डकी प्रदेश कमिटी अध्यक्ष रामजी शर्मा, गण्डकी प्रदेश कमिटीका उपसचिव श्रीनाथ बराल र नेकपा एस कास्की जिल्ला कमिटीका अध्यक्ष धनराज अचार्य लगायतले बोलेका थिए ।

प्रशिक्षणमा पार्टीका सम्मानित नेता एवं विदेश विभाग प्रमुख झलनाथ खनाल, उपाध्यक्ष केशवलाल श्रेष्ठ र महासचिव बेदुराम भुषालले प्रशिक्षण दिनेछन् । प्रशिक्षण कार्यक्रममा नेकपा एसका गण्डकी प्रदेशका अगुवा नेता कार्यकर्ताको उपस्थिति छ ।

  • ६ पुष २०७८, मंगलवार १३:५२ प्रकाशित