पोखरा ।
कास्की प्रहरीले कात्तिक महिनामा विभिन्न मुद्धामा अदालतबाट फैसला भइ कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ४८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले विभिन्न मुद्धामा फरार रहेका ३६ जना पुरुष र १२ जना महिलालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माका अनुसार फरार प्रतिवादीहरुबाट १ वर्ष ६महिना ६ दिन कैद सजाय र १ करोड दुई लाख १ हजार ५ सय जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको हो ।
प्रहरीले चेक अनादर मुद्धामा ३५, लागू औषध मुद्धामा ५, बैंकिङ कसुर मुद्धामा ४, अभद्र व्यवहार मुद्धामा १, आपराधिक उपद्रव मुद्धामा १, सार्वजनिक सम्पतिको नोक्सान गरी भ्रष्ट्राचार गरेको मुद्धामा १ र लेनदेन बिगो मुद्धामा १ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको हो ।