काठमाडौं ।
सहकारी ठगी प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार झण्डै ५ घण्टा बयान लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले गुरुङसँग बयान लिएको हो ।
करिव ५ घण्टा उनीसँग बयान कागज गराइएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए । श्रीमती ज्योति गुरुङ व्यवस्थापक रहेको ललितपुरको मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा धनराज गुरुङ पनि जोडिएका हुन् । ज्योतीले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप छ। ज्योतिविरुद्ध सहकारीकै अध्यक्ष कुम्भराज गुरुङले समेत सीआईबीमा जाहेरी दिएका थिए ।
धनराजले भने ज्योतिसँग २०७६ फागुन २९ गते सम्बन्ध विच्छेद भइसकेको बताउँदै आएका छन् । तर सम्बन्ध विच्छेदपछि पनि धनराजले ज्योतिको नाममा रहेको सहकारीको ऋण समेत तिरेका थिए ।
बयानका क्रममा उनले सम्बन्ध विच्छेदकै क्रममा सहकारीबाट लिएको ऋण आफूले तिर्ने र सम्बन्ध विच्छेद गर्दा ज्योतिले कुनै पनि सम्पत्ति दाबी नगर्ने शर्त रहेको बताएका छन्। सम्बन्ध विच्छेदपछि ज्योतिसँग भेटघाट नभएको र अहिले कहाँ छिन् भन्ने पनि थाहा नभएको उनको भनाई छ।
पहिल्यै सम्बन्ध विच्छेद भइसकेको भनेका गुरुङले २०७९ को निर्वाचनमा उम्मेदवार फारममा श्रीमती ज्योति गुरुङ नै उल्लेख गरेको भेटिएको छ । यस बारेमा पनि सीआईबीले के भएको भनेर उनीसँग सोधेको छ ।
उनले उम्मेदवारी दर्ता गर्दा आफू हत्तारमा पुगेको र पार्टीका कार्यकर्ताले नै उम्मेदवारी फारम भरेर तयार राखेको र उनीहरुले सम्बन्ध विच्छेद भइसकेको थाहा नपाएर यस्तो उल्लेख हुन गएको जवाफ दिएका छन् । यो प्राविधिक त्रुटी मात्रै भएको उनको जवाफ छ ।
सम्बन्ध विच्छेदपछि सहकारीबाट लिएको ऋणमा पनि हकवालाको स्थानमा श्रीमती ज्योतिकै नाम उल्लेख थियो । तर यस विषयमा पनि धनराजले सहकारीका कर्मचारीकै कारण ज्योतिको नाम उल्लेख भएको जवाफ दिएका छन् ।
सम्बन्ध विच्छेदपछि पनि धनराजले श्रीमतीको नाममा ऋण तिरिरहेको पाइएपछि धनराजको भूमिकालाई शंकास्पद मानिएको छ ।