काठमाडौं ।
आज उधौली पर्व ।
किराँत समुदायले मुख्य पर्वका रुपमा आज उधौली मनाउँदैछन् । खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने मंसिर शुल्क पूर्णिमाको यो दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् ।
मंसिर शुक्ल पूर्णिमाका दिन उधौली पर्व मनाउने किराँत समुदायले बाली लगाउने बेला अर्थात वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व मनाउने चलन छ ।
आज भूमि पूजाका लागि बिहानैदेखि किँरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रुङ ढोल झ्याम्टासहित बाजाको तालमा नाच्दै पर्व मनाउने ठाउँमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ(आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।
वैशाख पूर्णिमामा उभौली बाली लगाउनुअघि भूमिको पूजा गर्नुपर्ने सन्दर्भसँग जोडिएको छ भने आजको उधौली बाली उत्पादन गरिदिएकोमा भूमिप्रति कृतज्ञता ज्ञापन गर्ने सन्दर्भसँग जोडिएको मानिन्छ ।
यस्तै उधौली(उभौलीले ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिने गरिन्छ ।
आजै धानको पूजा गरी मनाइने धान्य पूर्णिमा र नेवार समुदायले योमरी पुन्हि पनि मनाउँदैछन् । सरकारले पर्व मनाइने मुख्य स्थानहरुमा सावर्जनिक विदा दिएको छ ।
राष्ट्रपतिबाट शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा शुभकामना सन्देश जारी गरेकी छन् ।
राष्ट्रपतिको सन्देशमा किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने पर्वको महत्व र गरिमाबारे उल्लेख गरिएको छ ।
‘ऋतु परिवर्तनको प्राकृतिक चक्र सँगसँगै आफ्नो जीवन चर्यालाई एकाकार बनाउन अभ्यस्त प्रकृति र पितृपूजक किराँत समुदायको यो चाडले हाम्रो मौलिक सांस्कृतिक परम्परालाई समृद्ध तुल्याएको छ, यस उधौली पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै मानव जातिको अस्तित्वको निरन्तरताका लागि प्रकृति र वातावरणको संरक्षण अपरिहार्य रहेको सन्देशसमेत दिएको छ भन्ने मलाई लागेको छ,’ सन्देशमा भनिएको छ ।