रुकुमपश्चिम ।
जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको कात्तिक १७ गते (शनिबार) एक वर्ष पूरा भएको छ । मध्यरातमा गएको ६.४ रेक्टर स्केलको यो भूकम्पले जाजरकोट र रुकुमपश्चिमका लागि बिर्सन नसक्ने घाउ छोडेर गएको छ ।
रातको ११ः४७ बजे र त्यसपछि पनि पटक–पटक गएका पराकम्पहरूले जाजरकोट र रुकुमपश्चिममा अकल्पनीय रूपमा ठुलो मानवीय र भौतिक क्षति पुग्यो । १ सय ५४ जनाले ज्यान गुमाउनु प¥यो भने करिब चार सय सर्वसाधारण घाइते भए । करिब ७५ हजार परिवार प्रभावित बने ।
यहि विनाशकारी भूकम्प गएको कात्तिक १७ गते एक वर्ष पूरा भएको छ । यस अवधिसम्म पनि प्रभावित नागरिकहरु अस्थायी आवास (टहरा) मै खुम्चिएका छन् । भूकम्पको बेला पुनर्निर्माणमा ढिलाई नगर्ने र पीडितकै साथमा रहेको बताएको सङ्घीय सरकारले अस्थायी आवास निर्माणकै कामलाई पूरा गर्न नसकेको गुनासो रहेको छ ।
आठबिसकोट नगरपालिका–१४ ज्यामिरकोटकी कल्पना बिकले पुस, माघको जाडोमा त्रिपालमूनि र गर्मीयाममा जस्तापाताको टहरामूनि कष्टकर दैनिकी बिताउनु परेको बताइन । भूकम्पले घरबारविहीन बनाएको सुरुको केहि महिना कठ्याङिग्रदो चिसो र त्यसपछि चर्को गर्मीको सामना गरेर दिन कटाउन बाध्य भएको बताउदै उनले अझैपनि सुरक्षित आवास पाउन नसकेको गुनासो समेत गरिन । सुत्केरी अवस्थाकी कल्पनाले उचित आवासको अभावमा वर्षदिन बिताएको बताइन ।
चाहिएको बेला न्यानो र उपयुक्त आवास नपाउँदा स्वास्थ्य अवस्था ज्याँदै कमजोर बनेको उनको भनाइ छ । भूकम्पबाट श्रीमान् र एक छोरा गुमाएकी सानीभेरी गाउँपालिका –४ की माया घर्तीले अझै पनि सुरक्षित आवास पाउन नसकेको गुनासो गरिन । ‘‘श्रीमान् र छोरा गुमाए, व्यापार गर्दै आएको घर ध्वस्त भयो,’’ उनले भनिन, ‘‘त्यस्तो बेला त्रिपालमूनि बसेर बाँच्यौ, गर्मीमा टिनको टहरामा उकुमुकुस भयो, अब फेरि चिसो हुने होला ।’’ अब हिउँदयाम सुरु हुने भएकाले बच्चा र आफ्नो स्वास्थ्य जोगाउन चिन्ता बढेको घर्तीले बताइन ।
भूकम्पपीडितहरुले पुनर्निर्माणको पर्खाइमा वर्षदिन बितेको बताउँछन् । उति बेला ओत लगाउन त्रिपाल र त्यसपछि अस्थायी आवासको प्रवन्ध भएतापनि समयमै पूनर्निर्माणको काम हुन नसकेको पीडितहरुको भनाइ छ ।
टहरा निर्माणकै भुक्तानी बाँकी
सरकारले भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० तयार गरेर टहरा निर्माणका लागि प्रतिपरिवार ५० हजार अनुदान व्यवस्था गरेको थियो । तर हालसम्म उक्त रकम पुरा दिन नसकेको बताइन्छ । केहिले पहिरो किस्ता बापतकै रकम पाएका छैनन् भने अधिकांशले दोस्रो किस्ता पाउन सकेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमका अनुसार जिल्लाभर ३२ हजार ६ सय ११ वटा अस्थायी टहरा निर्माण भएका छन् । विनाशकारी भूकम्पबाट प्रभावित भएका ३२ हजार ९ सय ९६ घरधुरी लाभग्राहीको सूचिमा रहेका छन् । जसमध्य ३२ हजार २ सय २ जनाले सरकारले दिएको अनुदान रकमबाट अस्थायी टहरा बनाएका छन् भने ४ सय ९ वटा टहरा विभिन्न संघसस्थाले निर्माण गरिदिएका छन् । ५ सय २३ वटा भने निर्माणाधिन अवस्थामा रहेका छन् ।
रुकुमपश्चिममा दुई हजार दुई जना प्रभावितले पहिरो किस्ताकै रकम पाउन सकेका छैनन् ने लाभग्राही कायम भएका मध्य १६ हजार जनाका लागि दोस्रो किस्ताको रकम निकाशा गरेको प्रशासनको तथ्याङ्क रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले सरकारले आवश्यक नियम तथा बजेट व्यवस्थापन गरेर पुनर्निर्माणको कार्य सुरु गर्ने बताएको तर कार्यान्वयनमा ढिलाइ भइरहेका बताए ।
विपद् प्रतिकार्यमा राज्यको कमजोर उपस्थितिले एक वर्षसम्म पनि नागरिकहरू अस्थायी टहरामा बस्न बाध्य भएका छन् । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले भूकम्प प्रभावित क्षेत्रको अवस्थाका बारेमा गरेको स्थलगत अध्ययनको प्रतिवेदनले समेत जाजरकोट भूकम्पपछिको पुनर्निर्माणमा राज्य असफल भएको निष्कर्ष निकालेको छ ।














