प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमालेले बहिस्कार गर्ने

केन्द्रभाग मिडिया

पोखरा ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संसद्मा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न देउवाले आइतबारका लागि बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आइतबार अपराह्न चार बजे बस्ने छ ।

बैठकमा संसद्मा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि एमालेले अवरोध गर्दै आएकाले दुवै सदनका कामकारबाही प्रभावित हुँदै आएको छ ।

बालुवाटार निकट स्रोतका अनुसार एमसीसी, एमालेले गरेको संसद अबरोध लगायत समसामयिक राजनीतिक विषयमा सर्वदलीय बैठकमा छलफल हुनेछ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिका लागि बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ। एमाले महासचिव शंकर पोखरेलले उक्त बैठकमा आफूहरुको सहभागिता नहुने जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा आफूहरुले कारबाही गरेका माधवकुमार नेपालको पनि सहभागिता हुने भएपछि एमाले उक्त बैठकमा सहभागी नहुने उनको भनाई छ । गत भदौ २३ गतेदेखि एमालेले संसदमा निरन्तर अवरोध गरिरहेको छ।

  • ३ पुष २०७८, शनिबार २०:११ प्रकाशित