पोखरा ।
तिहारको सयम हिरासतमा विताउने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अझै बयान निरन्तर चलिरहेको कास्की प्रहरीले जनाएको छ ।
पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेसँग केही प्रश्नको जवाफ सकिएपनि अझै धेरै प्रश्नको जवाफ लिन नै बाँकी रहेको कास्की प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए । अब २० कात्तिकमा थप म्यादका लागि जिल्ला अदालत कास्की उपस्थित गराइने शर्माले बताए ।
‘डीएपी शर्माले भने, ‘उहाँ (रवि लामिछाने) संगको बयान सकिएको छैन । केही प्रश्नको जवाफ लिएका छौं । अरु धेरै प्रश्नको जवाफ लिन नै बाँकी छ । २० गते सरकारी कार्यालय खुल्ने दिन म्याद थपका लागि अदालत उपस्थित गराउँछौं ।’
लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अवैध रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको आरोप छ । काठमाडौंबाट २ कात्तिकमा पक्राउ परेका लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न पहिलो पटक जिल्ला अदालत कास्कीले ६ दिन समय दिएको थियो ।
पहिलो पटक दिएको समयमा बयान पूरा नभएको भन्दै दोस्रो पटक ७ दिन समय थपिएको थियो । दोस्रो पटक थपिएको समय सकिँदा तिहार बिदा भइसकेकाले कार्यालय खुल्ने दिन कात्तिक २० गते तेस्रो पटक म्याद थप गर्न जिल्ला अदालत उपस्थित गराउने प्रहरीको तयारी छ।