खसीको भनेर बाख्राको मासु बेच्नेलाई जरिवाना

केन्द्रभाग मिडिया

सिरहा ।

सिरहास्थित लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ । यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गर्ने क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई पाँच हजार जरिवाना गरिइएको छ ।

यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी ११ हजार जरिवान गरिएको उपप्रमुख महतोले जानकारी दिए ।

उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताए । अनुगमनका क्रममा केही पसललाई सचेत गराइएको नगरपालिकाले जनाएको छ ।

  • १३ कार्तिक २०८१, मंगलवार ०९:०५ प्रकाशित