दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम भएको हल्ला

केन्द्रभाग मिडिया

काठमाडौँ ।

काठमाडौँबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखिएको हल्लापछि विमान चेकजाँच थालिएको छ । एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि चेकजाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी डम्बर विकले जानकारी दिएका छन् ।

दिल्लीबाट १३७ जना यात्रु लिएर आएको सो विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्किँदै थियो । तर, दिल्लीबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच भइरहेको एसएसपी विकले जानकारी दिए । सो विमानमा १६९ जना aयात्रु दिल्ली उड्ने प्रतीक्षामा छन् । विमानमा चेकजाँच भइरहेपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु छ ।

यसअघि कात्तिक ६ गते भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेको थियो । लगत्तै प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गर्दा केही फेला परेको थिएन ।

त्यतिबेला दिल्लीबाट काठमाडौँ अवतरण गरेको उक्त विमानमा बमको हल्ला भएको जानकारी गराएपछि केहीबेर आतंक सिर्जना भएको थियो ।

पछिल्लो समयमा भारतमा विमानमा बम रहेको भनेर पटक पटक हल्ला चल्ने गरेपनि सर्च अपरेशनका क्रममा भने केही फेला पर्ने गरेको छैन ।

  • १२ कार्तिक २०८१, सोमबार १६:५५ प्रकाशित