इजरायली आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या सात सय ७० पुग्यो

केन्द्रभाग मिडिया

File photo

एजेन्सी ।
विद्रोही समूह हमासविरुद्ध इजरायली सेनाले शुरु गरेको आक्रमणमा गाजा क्षेत्रको उत्तरी भागमा अहिलेसम्म सात सय ७० जना भन्दा धेरै

मानिसको ज्यान गएको छ । हमासले अघिल्लो वर्ष सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि हमासलाई पुनर्गठन हुनबाट रोक्ने उद्देश्यले इजरायलले गाजामा आक्रमण शुरु गरेको थियो ।

गाजाको उत्तरी भागमा अझै दशौँ हजार नागरिक फसेका बीबीसीले जनाएको छ । त्यहाँ इजरायलले यस महिनाको शुरुदेखि सैन्य कारबाही थालेर हमासमाथि दबाब कायम राखेको खबरमा उल्लेख छ ।

आक्रमणका कारण बनेका भग्नावशेषमुनि मानिसहरू अझै पुरिएका हुनाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने नागरिक सुरक्षा निकायको भनाइ छ । इजरायलले गाजामा विद्यालय र आश्रयस्थलमा आक्रमण गरिरहेको भए पनि सेनाले भने हमास लडाकूहरूलाई लक्षित गरेर आक्रमण गरेको बताउँदै आएको छ ।

उत्तरी क्षेत्रमा अब प्राथमिक उद्धार सेवाहरू प्रदान गर्न नसक्ने नागरिक सुरक्षा निकायले बताएको छ । इजरायली सेनाले आफ्ना टोलीहरूलाई बम विस्फोट गरी मार्ने धम्की दिएको निकाय आरोप छ ।

यसैबीच गाजामा झण्डै एक वर्षको युद्धपछि इजरायलले अर्को विद्रोही समूह हिजबुल्लाहको आक्रमणबाट आफ्नो उत्तरी सीमा सुरक्षित गर्ने भन्दै गएको महिना लेबनानतर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ ।

  • ९ कार्तिक २०८१, शुक्रबार १०:११ प्रकाशित