१६ वर्षीया किशोरीको चिनियाँ नागरिकसँग बिहे गराउने ८ जना मण्डपबाटै पक्राउ

केन्द्रभाग मिडिया

विराटनगर ।

बालिकालाई चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा सुनसरीमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना चिनियाँ नागरिक छन् ।

धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेल भन्ने स्थान बस्ने ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विबाह गराउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका- १२ का २० वर्षीय शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका-३ की २० वर्षीया रोशनीमाया तामाङसँगै चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरेको हो ।

नेपालको कानुन अनुसार विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्नु वा गराउन नहुने कानुनी व्यवस्था छ । यसरी जबर्जस्ती विवाह गराएमा विवाह बदर हुनेछ र यसमा कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था पनि मुलुकी देवानी संहिता २०७४ म‍ा छ ।

सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार किशोरीलाई प्रलोभनमा पारी जबर्जस्ती विवाह गर्दै गर्दा प्रहरीले उद्दार गरेको हो ।

  • ८ कार्तिक २०८१, बिहीबार १६:५८ प्रकाशित