रास्वपा सभापति  लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतका न्यायधिश कृष्णजंग शाहले पक्राउ पुर्जी जारी गरेको हुन् ।

सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ ।

गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेका हुन् ।

जोशी २०७८ मा गोर्खा मिडियाबाट अलग भएको देखिएको छ । लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग भएका हुन् । उनीहरू त्यहाँ हुँदा नै सहकारीको रकम अवैध तरिकाले आएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । प्रहरीसँगको बयानमा जोशीले आफ्नो घर धितो राख्न खोजेपछि कुरा नमिलेको र त्यसपछि गोर्खा मिडियाबाट अलग भएको बताएका छन् ।

 

  • २ कार्तिक २०८१, शुक्रबार १७:३३ प्रकाशित