सर्लाहीमा आगालागीबाट २ बालबालिकासहित ३ जनाको मृत्यु

केन्द्रभाग मिडिया

सर्लाही।
सर्लाहीको बेग्लाबेग्लै स्थानमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको कविलासी नगरपालिकामा आगलागीमा परी एकै परिवारका दिदी–बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राती विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा कविलासी नगरपालिका–७, सिर्सिया बस्ने जोगी महरा चमारकी छोरीहरु ८ वर्षीया लक्ष्मी कुमारी र ३ वर्षीया सोगन्धी कुमारीको मृत्यु भएको हो ।

आगलागीबाट जलेर गम्भीर घाइते भएका उनीहरुलाई जिल्ला अस्पताल मलङ्गवामा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौंतर्फ लैजाँदै गर्दा बिहीबार बिहान ३ बजेतिर बाटोमा नै मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए । आगलागीमा परेर चमारकी अर्की छोरी ५ वर्षीया सुधा कुमारी पनि घाइते छिन् ।

सामान्य घाइते सुधा भने स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज भइसकेकी छिन् । प्रहरीका अनुसार बुधबार राती ९ः१५ बजेतिर अतिविपन्न चमार परिवारको घरमा आगलागी भएको हो ।

आगलागी गाउँले र प्रहरी मिलेर आधा घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीबाट चमारको फुसले छाएको कच्ची घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट दुई सन्तान गुमाएको चमार परिवार घर जलेर खरानी भएपछि बिचल्लीमा परेको छ । पीडितको खुला आकाशमुनि बास भएको छ ।

यस्तै, मलङ्गवा नगरपालिका–६, खुटौनामा परालको घुर बालेर ताप्ने क्रममा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । बुधबार राती ११ः३० बजेतिर बाटो छेउमा पराल बालेर आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर गम्भीर घाइते हुनुभएकी ७० वर्षीया नसिर खाँ को उपचारका क्रममा जिल्ला अस्पताल मलङ्गवामा मृत्यु भएको हो । खाँ को बिहीबार बिहान ७स्१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • १ पुष २०७८, बिहीबार १२:१० प्रकाशित