बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सम्झौता हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल र बंगलादेशबीच आज ४० मेगावाट बिजुली बिक्री सम्झौता हुँदैछ । बंगलादेशले नेपालको बिजुली भारतको बाटो हुँदै लैजाने भएकाले त्रिपक्षीय सम्झौता हुनेछ ।

आज अपराह्न चार बजे होटल याक एण्ड यतीमा नेपाल र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा विद्यत् व्यापारसम्बन्धी सम्झौता पत्रमा अपराह्न हस्ताक्षर हुने छ ।

‘सीमा जोडिएको भारतसँग मात्र विद्युत् व्यापार गर्दै आएकोमा अब सीमा नजोडिएको बंगलादेशसँग पनि विद्युत् व्यापार गर्दै छौं,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘दुईपक्षीय विद्युत् व्यापारबाट त्रिपक्षीय व्यापारमा प्रवेश गर्नु नेपालको समग्र ऊर्जा क्षेत्रका लागि यो कोशेढुंगा हो ।’

नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम ९एनभिभिएन० र बंगलादेशको बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी रहेका सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षायामबाट बंगलादेश विद्युत् निर्यात गर्ने गरी काम सुरु गरिसकिएको बताए ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ ।

  • १७ आश्विन २०८१, बिहीबार १०:२६ प्रकाशित