नवलपुरमा बाढीबाट ६४१ घर डुबानमा

केन्द्रभाग मिडिया

नवलपरासी ।

नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा अविरल वर्षासँगै आएको बाढीका कारण ६ सय ४१ घर डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा सो परिमाणमा घर डुबानमा परेका हुन् ।

प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलका अनुसार नवलपुरको नारायणी नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन् । नारायणीमा पानीको सतह बढेसँगै बस्तीमा बाढी पसेर डुबान भएको उनले बताए । जिल्लाको गैँडाकोट नगरपालिका–२ बोटे टोलमा ८० घर डुबानमा परेका छन् । बस्ती डुबानमा परेपछि यहाँका बासिन्दालाई उद्धार गरी महेन्द्र स्मारक आधारभूत विद्यालय र श्रीराम पार्टी प्यालेसमा राखिएको छ ।

गैँडाकोट–७ सिकारी टोलका १५ घर, वडा नं ९ को थुम्सीका १८ घर र वडा नं १० थापा गाउँका १५ घर डुबानमा परेका छन् । डुबानमा परेका घरका बासिन्दा आफन्तकहाँ आश्रय लिएर बसेका प्रजीअ पोख्रेलले बताए । नवलपुरको कावासोती नगरपालिका–१५ बाघखोरका ६० घर र कावासोती–१७ गोछडाटारका दुई सय १५ घर समेत डुबानमा परेका छन् ।

यसैगरी मध्यविन्दु नगरपालिका–२ सीतापुर र सेरीका दुई सय घर डुबानमा परेका छन् । मध्यविन्दु–६ भडराका दुई सय घर र वडा नं १५ का १८ घर डुबानमा परेका छन् । डुबानबाट एक हजार नौ सय ३७ जना प्रभावित भएको प्रजीअ पोख्रेलले बताए । नारायणी नदीको बाढीका कारण यी क्षेत्र डुबानमा परेका हुन् । डुबानमा परेका क्षेत्रमा उद्धारका लागि तीन सय दुई नेपाल प्रहरी, एक सय ४५ सशस्त्र प्रहरी र ८२ नेपाली सेना खटिएका थिए ।

  • १३ आश्विन २०८१, आईतवार १०:५० प्रकाशित