बाढी, पहिरो र डुबानमा परेर ६६ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

तीन दिनदेखिको लगातारको वर्षासंगै आएको बाढी, पहिरो र डुबानका कारण ६६ जनाको ज्यान गुमेको छ । गृहमन्त्रालयका अनुसार शनिबार साँझसम्म ६६ जनाले ज्यान गुमाएका छन् भने ७९ जना बेपत्ता छन् । विपद्मा परेर ६० जना घाइते भएको मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकामा मात्रै ३४ जनाको ज्यान गुमेको छ । जसमा काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको ज्यान गुमेको हो । त्यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको ज्यान गुमेको छ ।

त्यसैगरी ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता छन् । गृहमन्त्रालयले अहिलेसम्म २ हजार भन्दा बढीको उद्धार गरिएको जनाएको छ । दुई सयभन्दा बढी घर क्षति भएको छ । विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

राहत तथा उद्धारमा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् । जसमध्ये काठमाडौं उपत्यकामा मात्रै नेपाल प्रहरी ४ हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएका छन् ।

  • १२ आश्विन २०८१, शनिबार २१:२६ प्रकाशित