अईसीसी विश्वकप लिग २

क्यानडासंग आज दोस्रो खेल खेल्दै नेपाल

केन्द्रभाग मिडिया

काठमाडौं ।
आईसीसी विश्वकप लिग २ मा नेपालले आज क्यानडासँग दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा क्यानडासँग फराकिलो अन्तरले पराजित नेपाल आज त्यसको बदला लिने दाउमा छ ।

खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत क्यानडासंग फराकिलो पराजयसंगै भएको ओमानसँगको खेलमा पनि नेपाल एक विकेटले पराजित भएको थियो ।

पहिलो खेलमा क्यानडासँग फराकिलो अन्तरमा पराजित भएपछि ओमानसँगको खेलमा केही खेलाडी परिवर्तन गरेपनि नेपालले जित्न सकेन । नेपालका युवा अलराउण्डर गुलशन झाले भने उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी एकै खेलमा पाँच विकेट लिने र अर्धशतक बनाउने खेलाडीसमेत बने ।

यसपटक लिग २ मा नेपालले कमजोर प्रदर्शन गरिरहेको छ । लिग २ को सुरुआत नै कमजोर प्रदर्शनबाट भएको थियो । ७ महिनाअघि घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिमा नेपालले ३ खेलमा हार बेहोरेको थियो । नामिबियासँग २ र नेदरल्याण्ड्ससँग एक खेलमा पराजित भएको थियो ।

क्यानडा भ्रमणका क्रममा पनि नेपालले घरेलु टोली र ओमानसँग एकरएक खेल हारिसकेको छ । आजको खेल जितेर नेपाललाई खेलमा फर्किने अवसर छ । जित्नु पर्ने दबाबमा रहेको नेपालले क्यानडासँगको दोस्रो खेलमा पहिलो खेल खेलेका केही खेलाडी परिवर्तन गर्न सक्ने सम्भावना छ ।

क्यानडासँगको खेलपछि नेपालले ओमानसँग खेल्दै सिरिजको अन्त्य गर्नेछ । ओमानसँगको खेल ८ गते साँझ पौने ९ बजेदेखि सुरु हुनेछ ।

  • ६ आश्विन २०८१, आईतवार १०:२६ प्रकाशित