दिल्लीको नयाँ मुख्यमन्त्री आतिशीले सेप्टेम्बर २१ मा शपथ लिने

केन्द्रभाग मिडिया

नयाँ दिल्ली ।

दिल्लीको नयाँ मुख्यमन्त्री चुनिएकी आम आदमी पार्टी (आप)की नेतृ आतिशीले सेप्टेम्बर २१ मा मुख्यमन्त्रीको शपथ लिने भएकी छिन् ।

पार्टीले यसअघि नै २१ सेप्टेम्बरमा मुख्यमन्त्रीको शपथ ग्रहण गराउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्‍मा सामेल भएका अन्य मन्त्रीहरूले पछि शपथ लिने भनिएको थियो । तर, अब मन्त्रीहरुलाई पनि सोही दिन शपथ गराउने निर्णय भएको छ । अरविन्द केजरीवाल सरकारमा शिक्षा मन्त्री रहेकी अतिशी सेप्टेम्बर १७ मा विधायक दलको नेता चुनिएकी थिइन् ।

निवर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले नै मुख्यमन्त्रीका लागि अतिशीको नाम प्रस्ताव गरेका थिए । बाँकी विधायकले पनि उनको नाममा समर्थन गरे । यसअघि तिहाड जेलबाट बाहिर आएपछि सेप्टेम्बर १५ मा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै केजरीवालले मुख्यमन्त्रीबाट आफ्नो राजीनामाको घोषणा गरेका थिए ।

आतिशी दिल्लीको मुख्यमन्त्रीको कुर्सी सम्हाल्ने तेस्रो महिला नेत्री बनेकी छन् । यसअघि भाजपाकी सुष्मा स्वराज र कांग्रेसकी शीला दीक्षित दिल्लीको मुख्यमन्त्री बनेका थिए ।

  • ३ आश्विन २०८१, बिहीबार १७:०२ प्रकाशित