पोखरा ।
पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्डो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गर्ने भएको छ । नगर प्रमुख धनराज आचार्यका अनुसार पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगद २ लाख २२ हजार २२२ सहित सम्मान गर्न लागिएको हो ।
आइतबार पोखरा रङ्गशालामा आयोजित एक कार्यक्रमका बिच पलेसालाई सो सम्मान प्रदान गरिने नगर प्रमुख आचार्यले जानकारी दिए । ‘नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ, प्रमुख आचार्यले भने, तर अहिले सम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेसाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पु¥याएकी छिन्, यो सिङ्गो मुलुकका लागि गर्वको विषय हो।’ पलेसा लगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि पोखरा महानगरपालिकाले उनलाई सम्मान गर्न लागेको प्रमुख आचार्यले बताए ।
‘हामीले यसअघि पोखरामा सम्पन्न नवौँ संस्करणको राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जित्ने १९२ जना नगरवासी खेलाडीहरू, ३६ जना टिम म्यानेजर र ४० जना प्रशिक्षकहरूलाई समेत नगद सहित सम्मान गरेका थियौँ, आइतबार पेरिस ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पारा तेक्वान्डो खेलाडी पलेसालाई सम्मान गर्दै छौँ, उनले भने , पोखरा महानगरपालिका सदैव राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूको साथमा रहनेछ।
’ समग्र खेलकुदको विकास, पूर्वाधार निर्माण, खेलाडीहरूको खेल कौशल तथा क्षमता विकास, विद्यालय तहका विद्यार्थीहरूको खेल प्रतिको रुचिको प्रवर्द्धन लगायत गतिविधिहरू सञ्चालन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ छ ।
नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।