गण्डकी प्रदेश तेक्वान्दो संघले पलेशा र प्रशिक्षक कविराजलाई सम्मान गर्दै

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजना एवं कास्की जिल्ला तेक्वान्दो संघको सहयोगमा पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक दिलाउन सफल पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गर्ने भएको छ ।

पोखरा रंगाशालमा आइतबार बिहान ७ः३० बजे विशेष कार्यक्रमको आयोजना गरी पलेशा र कविराजलाई सम्मान गर्न लागिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री पाण्डेले समेत नगद तथा सम्मान–पत्रबाट सम्मान गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष जगन बहादुर गुरुङले बताए ।

कार्यक्रममा सामाजिक बिकास तथा खेलकुदमन्त्री विन्दु कुमार थापा र पोखरा महा–नगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेश खेलकुद परिषद् र महानगरका विभिन्न वडा र पोखरा स्थित संघसंस्था, उद्योग व्यवसायी लगायत खेलकुद प्रेमीहरुले समेत आर्थिक रुपमा पेलशा र प्रशिक्षक कविराजलाई सम्मान गर्ने आयोजक संस्था गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेलले जानकारी दिए ।

सम्मान कार्यक्रमका लागि विभिन्न खेलसंघ र खेलाडीहरु बीच छलफल भएको तयारी तिव्र पारिएको जिल्ला अध्यक्ष कुमार गुरुङले जानकारी दिए।
पलेशाले पेरिस पारा ओलम्पिकमा तेक्वान्दोको ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी हुन् ।

यस अगाडि नेपाल तेक्वान्दो संघले पलेशालाई दश लाख र प्रशिक्षक कविराजलाई ३ लाख नगदसहित सम्मान गरिसकेको छ भने नेपाल सरकारबाट ६५ लाख नगद सहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।

  • २७ भाद्र २०८१, बिहीबार १६:३८ प्रकाशित