साउन यता जापानी इन्सेफ्लाइटिसबाट ९ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस संक्रमितको संख्या ५३ पुगेको हो ।

गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ । गत वर्ष जापानी इन्सेफ्लाइटिस संक्रमणबाट ६ जनाको गएको थियो ।  यस वर्ष कैलालीमा तीन, सुनसरीमा दुई र सर्लाही, पाल्पा, चितवन तथा कपिलवस्तुमा एक–एक जनाको मृत्यु भएको खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

गत वर्षको तुलनामा यस वर्ष संक्रमितको संख्या कम भए पनि मृत्युदर बढेको महाशाखाले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो जापानी इन्सेफ्लाइटिस विरुद्धको खोप नलिएका व्यक्तिहरू छन् । संक्रमितमध्ये २९ जना १५ वर्षमुनिका बालबालिका छन् ।

जापानी इन्सेफलाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेले सार्ने गर्छ । यो रोग लागेपछि कडा टाउको दुखाइ, उच्च ज्वरो र मस्तिष्क सुन्निने जस्ता लक्षणहरू देखिन्छन् । उपचारपछि निको भए पनि पक्षाघातको समस्या रहन सक्छ ।

महाशाखाले जापानी इन्सेफलाइटिस विरुद्धको खोप लिन र लामखुट्टेको टोकाइबाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

  • २६ भाद्र २०८१, बुधबार १६:४५ प्रकाशित